Monday, July 12, 2010

दर्शक बटुल्दै बाटुली


दमक-, माघ ७ - डाक्टरसिंह गुरुङले डुबिने हो कि भन्ने डर मान्दै फिल्म निर्माणमा हात हालेका थिए । पहिलो फिल्म 'बन्दकी' ले उनलाई 'नाम र दामको शिखरमा पुर्‍यायो ।' यसले फिल्ममै पैसा लगाइरहन उक्सायो । त्यही उक्साहटमा बनाएको 'बाटुली' यति बेला पूर्वको दमकदेखि पश्चिमको धनगढी- सम्म प्रदर्शन भइरहेको छ ।


'यसमा पनि दर्शकको भीडले ममा झन् उत्साह थपेको छ,' दमकमा बुधबार भेटिएका निर्माताले भने । 'बाटुली' पाथिभरा हलमा तीन सातादेखि प्रदर्शन भइरहेको छ । हल सञ्चालक एवं चलचित्र वितरक चैतन्य बरालको दाबीअनुसार सुरुका दिनदेखि दर्शक पातलिएका छैनन् ।'यसरी चल्दैन कि जस्तो लागेको थियो,' बरालले भने, 'तर दर्शकले यति मन पराए कि सबै अचम्म परेका छन् ।'


यो फिल्मको मुख्य कथा गाउँ जीवन वरिपरि घुमेको छ । नेताहरूले नयाँ नेपालबारे जति नै भाषण ठोके पनि बाटुली नामकी महिला तिनमा विश्वस्त हुन्न । उसलाई के लाग्छ भने साँच्चैको नयाँ नेपाल गाउँले प्रयासले मात्र बन्छ । ऊ 'हरियो वन नेपालको धन' भन्ने आहानलाई व्यवहारमा उतार्न थाल्छे । सामुदायिक वन जोगाउन, त्यसमा घाँस रोप्न अनि गाउँमै गाईवस्तु पाल्न ऊ सबैलाई प्रेरित पनि गर्छे । दूध, दही, घिउ बेचेर प्रशस्त आम्दानी गर्न थाल्छे । अनि ऊ आफ्नो जीवनस्तर उकास्न सफल हुन्छे । नयाँ नेपालको सपना बाँड्दै हिँड्ने नेताहरूलाई योभन्दा ठूलो पाठ के हुन्छ ?


'फिल्मको चुरो कुरै यही हो,' निर्माता गुरुङले सुनाए, 'नयाँ नेपाल निर्माणका लागि नेताको बाटो हेर्नु पर्दैन । बाटुली जस्तै साधारण मानिसको सानो प्रयासले पनि नयाँ नेपालको पूर्वाधार बन्छ ।'
दमक-१४ की गृहिणी मीना बस्नेतले पनि यस्तै धारण बनाएकी छन् । 'फिलिममा देखाए जस्तै गाउँ- ठाउँका महिलाले पनि सशक्तीकरणका लागि प्रयास गरे परिवर्तन हुने रैछ,' फिल्म हेरेर र्फकंदा उनले भनिन्, 'छोरीले राम्रो फिलिम छ भनेर आ'की थेँ, राम्रो रैछ ।''बाटुली' मा राजेश हमाल, विराज भट्ट र रेखा थापाको मुख्य भूमिका छ । आफैंले पैसा खन्याएको फिल्ममा गुरुङले नखेल्ने कुरै भएन । अचेल यस्तै प्रचलन जो छ ।

एम्बुलेन्स चालक महिला


दमक, मंसिर २१ - पीडा जसले भोग्छ उसैलाई थाहा हुन्छ । दशकअघि आफूलाई प्रसव बेथा लाग्दा एम्बुलेन्स नपाएर पीडादायी सुत्केरी भएकी रमा विक अहिले चालक बनेकी छन् । सार्वजनिक सवारीको होइन, उनी एम्बुलेन्सको चालक बनिन् । ३४ वर्षीया रमाको अठोट थियो, 'कुनै दिन एम्बुलेन्स चालक नै भएर आफूजस्ता प्रसव वेदनाले च्यापेका महिलाको ज्यान बचाउने छु ।'


उनको अठोट तत्कालै पूरा हुन भने सकेन । दुइ साताअघिदेखि भने उनी एम्बुलेन्स हाँकेर सुत्केरी बेथा लागेका दिदीबहिनीलाई समयमै अस्पताल पुर्‍याउने र घर ल्याउने गर्छिन् । दमक ७ की विकले महिना दिनदेखि डम्बर-अम्बिका स्मृति ट्रस्टको एम्बुलेन्स हाँक्न थालेकी हुन् । दुइ वर्षघि गाडी चलाउन सिकेकी उनले धेरैतिर जागिरका लागि भौंतारिएर चुनौतीपूर्ण यो काममा हात हालेको बताउँछिन् । 'केही समय अरू गाडीमा काम गरेपछि मात्रै एम्बुलेन्स चलाउने विचार थियो सुरुमै यतै लाग्नुपर्‍यो,' विकले भनिन्, 'चुनौतीपूर्ण काम रमाइलो हुँदोरहेछ ।'


दमकको रात्रिबस स्ट्यान्डनजिकै डेरामा बस्ने विक रातबिहान नभनी बिरामीको ज्यान बचाउने ध्याउन्नमा दौडिन्छिन् । 'मेरो पेसाले दिउसो, राति र सजिलो अप्ठेरो भन्न मिल्दैन,' उनले भनिन्, 'मेरो एक मिनेटको ढिलाइले मानिसको ज्यान जान सक्छ ।'


०४९ सालमा बिहे गरेकी उनका श्रीमान् वैदेशिक रोजगारीमा गएकाले माइतीघर खुदुनाबारी बस्दै थिइन् । उनका दुवै छोरा जन्मिने बेलामा अस्पताल पुग्न पाइनन् । धेरै अनुनयविनय गर्दा पनि एम्बुलेन्स सञ्चालकले सहयोग नगरेको उनले बताइन् । रमाले भनिन्, 'प्रसव पीडाले छट्पटाउँदै गर्दा सुत्केरीबाट उठेपछि एम्बुलेन्स नै चलाउँछु भन्ने अठोट गरें ।'


स्थानीय लालीगुराँस महिला समूहले दिएको ५ हजार ऋणबाट उनले सुँगुर पालिन् । त्यही पाठा बेचेर आएको पैसाले गाडी चलाउने तालिम लिएकी हुन् । एम्बुलेन्सको खोजी गरिरहेकै बेला उनलाई डम्बर अम्बिका स्मृति ट्रस्टबाट चलाउन भनियो ।



बल्ल ८ वर्षघिको उनको योजना पूरा भयो । अहिले उनी लाइफ लाइन अस्पताल परिसरमा मे१च ३७७ नं. को एम्बुलेन्समा भेटिन्छिन् । त्यहाँबाट घर लैजाने बिरामी ओसार्ने उनको प्रमुख जिम्मेवारी हो । तर बाहिरका बिरामी ल्याउन पनि उनी उत्तिकै सक्रिय छिन् । एम्बुलेन्स चलाएको महिना दिनको अनुभव सुनाउँदै उनी भन्छिन्, 'धेरैजसो महिला बिरामीकै लागि मलाई बोलाइरहेका छन् ।' उनलाई एम्बुलेन्स उपलब्ध गराउने संस्थाका सञ्चालक इन्द्र अधिकारीका अनुसार संस्थामा महिला चालक राखेपछि धेरैवटा अस्पतालले धन्यवाद दिएका छन् ।

५५ वर्षमा खुला विद्यालय हुँदै क्याम्पस


दमक, कार्तिक १६ - ५५ बर्षीय दयाराम धिमालको दैनिकी बदलिएको छ । सधैका वर्षमा यो समयमा उनी बिहानैदेखि या धान काट्न खेतमा हुन्थे वा कसैकोमा झ्यालढोका बनाउँदै । यस वर्षका उनका बिहानी भने कापी- किताब बोकर क्याम्पस जानमा बित्ने गरेका छन् ।


यो बुढ्यौलीमा क्याम्पस पुर्‍याउन उनलाई खुला शिक्षा कार्यक्रमले महत्त्वपूर्ण भूमिका निर्वाह गर्‍यो । ३८ वर्षअघि विद्यालय छोडेका धिमाल डेढ वर्षदेखि नियमित विद्यार्थी बनेर तन्नेरी जोवनमा फर्किएका छन् ।
आफूले आठ कक्षा छोडेर वैवाहिक बन्धनमा बाँधिएर जन्मिएका छोरो- छारीले पनि क्याम्पसका प्रारम्भिक कक्षा सकिसके । 'उस बेला पढ्न सकिएन, पछि पढ्न पाइएको थिएन,' हिमालय उच्च मावि, दमकको कक्षा ११ मा भेटिएका धिमालले भने, 'पछि खुला विद्यालय आएपछि पढ्ने धोको पूरा भयो ।'
धिमाल बिहान सवा छ बजेदेखि कक्षामा आउँछन् र करिब १० बजेसम्म पढ्नमै व्यस्त् हुन्छन् । त्यसपछि मात्र उनको सधैको दैनिकी सुरु हुन्छ । यस वर्षको एसएलसीमा सहभागी भएर सफल भएपछि उनको उच्च शिक्षाको बाटो खुलेको हो । नेपाली, समाजसास्त्र र जनसंख्या विषय लिएर पढिरहेका धिमाल आफ्नो पढाइ केवल समाजसेवाका लागि भएको बताउँछन् । 'पढेर जागिर खाउँला भन्ने होइन,' उनी भन्छन्, 'समाजसेवाका लागि पनि शैक्षिक योग्यता जरुरी रहेछ ।'


आठ कक्षा सकेर विद्यालय छाडेपछि उनी तत्कालीन नगर पञ्चायतको नगरसभासद पनि भएका थिए । १२ कक्षा सकियो भने त्यसभन्दा रामै्र स्थानमा पुगेर समाजसेवा गर्न सकिएला भन्ने आशा छ उनमा । आफूसँगै पढेका दौंतरी सरकारी नोकरी तथा अन्य उच्च स्थानमा पुगेर सफलता हासिल गरेको देखेपछि खिन्न भइरहेको बेला एसएलसी पास गर्ने मेसो पाएपछि पढ्न आएको उनले बताए । गत वर्ष खुला कक्षामा आउँदा विद्यालयको पोसाक लगाउनुपर्दैनथ्यो तर औपचारिक कक्षामा आउन थालेपछि त विद्यालयले तोकेको पोसाक लगाउनुपर्छ । दैनिक पोसाकमा टाइ पनि राखिएकाले उनलाई टाइ बाँध्ने समस्या बिहानैपिच्छे आउने गर्छ । टाइ यसै विद्यालयबाट १२ कक्षा सकेकी छोरी नेत्रकुमारीले लगाइदिन्छिन् ।


आठ कक्षामात्र पढे पनि धिमालले आफ्नो भाषा र संस्कृति जोगाउन योगदान दिएका छन् । उनले दुई वर्षअघि धिमाल जातिको लिपि धमलिपि निर्माण गरेको धिमाल युवा मञ्चका केन्द्रीय अध्यक्ष अजित धिमालले जानकारी दिए । सो लिपिलाई नै आधिकारिकता प्रदान गर्न उनले धिमाल जातीय विकास केन्द्रमा पेस गरेका छन् । उनको लिपिमाथि बहस र परिमार्जन भइरहेको केन्द्रले जनाएको छ ।


पढाइ छोडेर घर व्यवहार र मजदूरीतिर बरालिएको धिमालको जिन्दगी कोल्टे फेराउने कामचाहिं शिक्षा मन्त्रालयले सञ्चालन गरेको खुला विद्यालयले गरेको हो । प्रधानाअध्यपक बिदुर खतिवडाका अनुसार शिक्षा कार्यालयाले गत वर्ष पहिलोपटक हिउँ माविमा खुला विद्यालय सञ्चालन गरेको हो ।

गाउँलेको प्रतिकारमा तीन डाँका मारिए

दमक, फाल्गुन ५ - डकैती गरी भाग्दै गरेका तीन डाँका गाउँलेको प्रतिकारमा मङ्गलबार राति मारिएका छन् ।

पथरीया गाविस - ४ का भूमिराज राजवंशीको घरमा डकैती गरी भाग्दै गरेका डाँकालाई गाउँलेले मारेका प्रमुख जिल्ला अधिकारी कुमार श्रेष्ठले जानकारी दिए । राति राजवंशीको घरबाट धनमाल लुटेर भागेका डाँकामध्ये एकजनालाई पिटेर मारेका तथा प्रहरी नियन्त्रणमा रहेका अन्य दुई जनालाई गाउँलले नियन्त्रणमा लिइ कुटपीट गरेका थिए । कुटपिटका कारण गम्भीर घाइते भएका एकको घटनास्थलमै र अर्काको मेची अन्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

गाउँलेको आक्रमणमा घाइते अर्का एकको भने मेची अन्चल अस्पतालमा उपचार भइरहेको छ । उनलाई अस्पतालले थप उपचारका लागि अन्यत्रै लैजान सिफारिस गरेपनि आफन्त सम्पर्कमा नआएका कारण उनको गम्भीर अवस्थामा उपचार भइरहेको छ ।

पहिलो डिभिजनबाट पनि अयोग्य लडाकुको विदाइ

दमक , माघ ११ - इलाम चुलाचुलीस्थित माओवादी सेनाका लडाकुको पहिलो डिभिजनमा रहेका अयोग्य लडाकुको सोमबार बिदाइ गरिएको छ ।

उक्त डिभिजनमा राष्ट्र संघीय मिसनको प्रमाणिकरणमा अयोग्य ठहरिएका ८ सय ७८ जनालाई राष्ट्रसंघीय निकायहरुको पहलमा सोमबार शिविरबाट घरतर्फ पठाइएको हो । तर, शिविरबाट बाहिर लग्ने क्रममा जम्मा ४ सय ७५ जना मात्र उपस्थित भए । अन्य अयोग्य लडाकुहरुले यसअघि नै शिविर छाडिसकेको बताइएको छ ।

शिविरबाट विदाइका लागि तयार रहेका ती अयोग्य लडाकुहरुलाई नजिकको बस पार्कसम्म पुर्‍याउनका लागि १७ वटा बसको व्यवस्था गरिएको थियो । उनीहरुका झोलाहरु बसमा राखिएको थियो । उनीहरुले बाटो खर्च र राष्ट्रसंघले पछि बिभिन्न पुनस्थापना कार्यक्रम सञ्चानका क्रममा पहिचान गर्न सजिलोको लागि उपलब्ध गराइएको परिचय दिइएको थियो । बिदाइका लागि माओवादी सेनाका कमाण्डर नन्दकिशोर पुन पनि चुलाचुली पुगेका थिए ।

शिविर छाड्ने अयोग्य लडाकुहरुले राष्ट्रसंघबाट बाटो खर्चबापत १० हजार र माओवादीले आफ्नै स्रोतबाट दिने १२ हजार रुपैयाँ गरी कुल २२ रकम दिइएको छ ।

माओवादी प्यारा भाइ बहिनी जस्तैः ओली

गौरीगञ्ज , पुस २४ - एमाले नेता केपी ओलीले माओवादीले एमालेलाई शत्रु माने पनि आफनो पार्टीले उसलाई त्यस्तो रुपमा नहेरेको बताएका छन् । माओवादीको बुद्धि आउन बाँकी रहेकाले उसले सत्रु र मित्र छुट्याउन नसकेको बताए । झापा क्षेत्र नम्बर ६ को प्रथम क्षेत्रीय अधिबेशनको शुक्रबार यहां उदघाटन गर्दै उनले भने, 'माओबादीले हामीलाई शत्रु भनेपनि हामी उसलाई प्यारा भाइ बहिनी जस्तो मान्छौ । किन कि उनीहरुको बुद्धि आउन बांकी नै छ ।'

माओबादी बाटो बिराएको पार्टी भएकाले उसलाई साथै लिएर हिड्न सक्नु बर्तमान राजनीतिको मुख्य चुनौती भएको ओलीले बताए । हत्या, हिंसाको राजनीति माओबादीले नछोडेकाले उसलाई सुधारेर सही दिशामा हिडाउन एमालेले प्रयत्न गरिरहेको उनले बताए । यसअघि आजै बिराटनगर बिमानस्थलमा संचारकर्मीहरुसँग कुरा गर्दै शुक्रबार बनेको उच्चस्तरीय राजनीतिक संयन्त्रको कार्यक्षेत्र, दायित्व र अधिकारबारे प्रश्न उठाएका थिए ।

' संयन्त्र किन बन्यो ? सरकार संचालनको लागि हो कि दलहरुलाई संचालन गर्न ?' उनले भने, त्यसको संबैधानिक वा राजनीतिक अधिकार के हो ?'

शरणार्थी शिविरहरुमा धम्की

दमक, भाद्र २९ - साताअघि भूटानी शरणार्थीका सामाजिक कार्यकर्ता केबि खड्काको हत्या भएपछि शरणार्थी शिबिरमा श्रृंखलाबद्ध रुपमा धम्कीका घटना बढेका छन् । जसका कारण बेलडांगी शिविरमा ठूलो संख्यामा शरणार्थी अगुवाहरु बिस्थापित भएका छन् ।

सशस्त्र प्रहरी बेसक्याम्प बेलडांगीका अनुसार तीनवटा शिविरमा गरेर करिब १ सय शरणार्थीहरु बिस्थापित भएका छन् । सशस्त्र प्रहरी निरिक्षक गान्दिप स्याङ्गताङ्गका अनुसार सुरक्षा पाँउ भनेर निबेदन दिनेहरु क्रमश बढीरहेका छन् । प्रहरीका अनुसार बेलडांगी १, बेलडांगी दुई र तीन्ा गरेर पाँच दिनमा १५ जनाको जाहेरी परेको छ । कतिपय शरणार्थी नेताहरुलाई जिल्ला प्रसासन कार्यलयले नै सुरक्षा दिनु भनेर नाम सहितको निर्देशन पठाएको बेस क्याम्पले जनाएको छ ।

साताअघि दमकबाट शिविर र्फकने क्रममा बेलडांगी ३ का पूर्ब सचिब केबि खड्काको अज्ञात समूहद्धारा हत्या भएको थियो । हत्या लगत्तै शरणार्थीहरुमा धम्कीको क्रम बढेको हो । हत्यामा संलग्न कसैलाई पनि प्रहरीले पहिचान र पक्राउ गर्न नसकेको हुनाले पनि शरणार्थीहरु त्रसित भएका छन् ।
ब्ेालडांगी ३ का सचिव गणपती अधिकारी खड्काको हत्या भएकै भोलीपल्ट देखि शिबिरमा सुत्न छोडेका छन् । उनको छाप्रामा दुई जना अज्ञात युवाहरु आएर ढोका ढक्ढक्याउने,बाहिरी निस्की भन्न्ो जस्त्ा क्रियाकलाप गरेपछि अधिकारी राति शिविरमा बस्न छोडेका छन् ।

शिविरबाट पूर्ब सचिब सुवास आचार्य,क्याम्प रेखदेख समितीका बलराम सुबेदी लगायतका अगुवाहरु धम्कीका कारण भागेका छन् । यसैगरी भूटान पिपुल्स पाटीका केन्द्रीय सदस्य टीबी थापा र गोपाल गुरुङ्गहरुले पनि असुरक्षाको भएको भन्दै प्रसासनिक इकाइहरुमा जानकारी गराएका छन् । यता बेलडांगी १ का सचिब टी बी गुरुङ्ग लगायतले पनि शिबिर छोडेका छन् ।

श्रोतका अनुसार पहिला शिबिरमा असुरक्षा भयो भनेर दमक र बिर्तामोडमा डेरा लिएर बसेका शरणार्थी नेताहरु अहिले यहां पनि असुरक्षित महसुश गरेर काठमाण्डौतिर जान थालेका छन् । प्रहरीका अनुसार धम्की दिने समूहहरु हालसम्म पहिचान गर्न सकिएको छैन । शरणार्थीहरुलाई मोबाइल मार्फत धम्काउने धेरै छन् ।

शिबिरको सुरक्षा कडा पार्न प्रहरीले सांझ सात बजेदेखि शिविर प्रबेशमा कडाइ गरेको छ । राति मोटरसाइकल शिविरमा लैजान बर्जित गरिएको छ भने दिउँसो पनि जांच गरेर मात्र पठाइने गरेको बेस क्याम्पले जनाएको छ । खड्काको हत्या स्वदेश फिर्ती पक्षको बिरोध गर्ने समूहबाट भएको लिबरेसन आर्मी अफ भूटानले आरोप लगाएको छ । शरणार्थीको सुरक्षाका बिषयमा यूएनएचसिआर समेत गम्भिर नभएको विस्थापितहरुले जनाएका छन् । यता आइतबार राति क्षेपयास्त्र डु्रक लियोपार्ड नामको संगठनले शिविरहरुमा पर्चाछरी आठ जना शरणार्थी अगुवाहरुलाई परिवार सहित शिबिर नछाडे भौतिक कावार्ही गर्ने चेतावनी दिएको छ ।